
शिवसताक्षी, ६ जेठ । झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमै पुर्वेली भेट्रानले शानदार प्रदर्शन गर्दै प्रकाशपुर भेट्रान लाई ५–१ गोल अन्तरले पराजित गरेको छ।
खेलको सुरुदेखि नै आक्रामक बनेको पुर्वेली भेट्रानका खेम पोख्रेल नायक बने। उनले व्यक्तिगत चार गोल गर्दै टोलीलाई सहज जित दिलाए। खेमले ११औं, १६औं, २८औं र ५१औं मिनेटमा गोल गरेका थिए। टोलीका लागि अर्को गोल सन्तोष राई ले खेलको तेस्रो मिनेटमै गरेका थिए।
प्रकाशपुर भेट्रानका तर्फबाट टीका कटुवाल ले १९औं मिनेटमा सान्त्वना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका खेम पोख्रेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।
प्रतियोगिताको उद्घाटन मेगाहाङ थोप्रा ले गर्नुभएको थियो। उद्घाटन समारोहमा झापा ११ फुटबल क्लब का अध्यक्ष जलकुमार गुरुङ, शिवसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङबो, इलाका प्रहरी कार्यालय झिलझिले का प्रमुख सुभाष केसी लगायतको उपस्थिति रहेको थियो।
आयोजक दुधे भेट्रान क्लब का अनुसार प्रतियोगिताको विजेताले नगद रु। १ लाख ५१ हजार तथा उपविजेताले रु। ८१ हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताअन्तर्गत भोलि दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेलमा आयोजक दुधे भेट्रान ९बि० र कनकाई भेट्रान बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा पथरी शनिश्चरे भेट्रान र बिर्तामोड भेट्रान आमनेसामने हुनेछन्।


