
झापा, ६ जेठ । झापाको दमकमा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत भेटिएका छन् ।
लक्ष्मीमार्ग टोलस्थित आफ्नै घरमा मृत फेला परेका खड्काले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । घटना अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
मृत्युअघि सामाजिक सञ्जाल फेसबुकमा बैंकका उच्च पदाधिकारीसहित चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै उनीहरूकै कारण आफूले मर्ने निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका छन् ।
उक्त पोस्ट सार्वजनिक भएको केही समयपछि नै उनी आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका बुवा महेश खड्काले छोरालाई सो अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
घटनालगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाएको थियो । प्रारम्भिक सोधपुछका क्रममा मृतक खड्का यसअघि बैंकको आन्तरिक कारबाहीमा परेको खुलेको छ ।
घटनाको निष्पक्ष अनुसन्धानका लागि मृतक खड्काको मोबाइल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । मोबाइलको पासवर्ड खोल्ने र प्राविधिक विश्लेषण गर्ने काम भइरहेको छ ।


