
शिवसताक्षी, ६ जेठ । झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बुधबार भएको खेलमा बिर्तामोड भेट्रानले पथरी शनिश्चरे भेट्रानलाई ट्राइब्रेकरमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बिर्तामोड भेट्रान भाग्यमानी सावित भयो ।
ट्राइब्रेकरमा बिर्तामोडका गोलकिपर मीन बस्नेत नायक बने । उनले विपक्षी टोलीका दुई महत्वपूर्ण प्रहार बचाउँदै टोलीलाई जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका बस्नेत खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।
यता दोस्रो खेल दुधे भेट्रान रातो र कनकाई भेट्रानबीच जारी रहेका बेला अचानक परेको वर्षाका कारण खेल अवरुद्ध भएको आयोजकले जनाएको छ । खेल पुनः कहिले सञ्चालन गर्ने भन्नेबारे आयोजकले पछि जानकारी दिने बताइएको छ ।
प्रतियोगितामा विभिन्न स्थानका भेट्रान टोलीहरूको सहभागिता रहेको छ । खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थितिले दुधे रंगशालाको माहोल थप उत्साहपूर्ण बनेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उपविजेताले ८१ हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


