
झापा, ९ जेठ । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
पाँचथरको साविक नागी गाविस–९ घर भई हाल झापा कारागारमा जबजस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राति मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा भर्ना गरिएकोमा अवस्था गम्भीर बनेपछि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।
उपचारकै क्रममा घिमिरेको आज बिहान ३ः४५ बजे मृत्यु भएको हो । जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले हालसम्म आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए । मृतकको शव बीएण्डसी अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


