
झापा, ११ जेठ । झापाको दमक नगरपालिका–५ मा लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार राति करिब १० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले दमक–५ स्थित डेरा कोठामा छापा मार्दा २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको कोठाबाट प्लाष्टिकमा स–साना पोका बनाई राखिएको अवस्थामा प्लाष्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । साथै, नगद नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारतीय रुपैयाँ १ हजार १ सय र दुई थान मोबाइल सेट समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तुलसी माझीको बयानका आधारमा सोही स्थान बस्ने ३० वर्षीय राज माझीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


