
झापा, १३ जेठ । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ५ बजे सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई घरमा झार्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसबाट ओराल्ने क्रममा बालक बसको चपेटामा परेका थिए । दुर्घटनापछि बस र चालक गौरादह–७ निवासी ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ७ बजे पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


