
झापा, १४ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा देशको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ भने यतिबेला (बिहीबार बिहान) बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार यस्तो छ मौसमको प्रक्षेपण
दिउँसोः कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम आंशिक बदली हुनेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तातो दिन हुने सम्भावना छ।
रातिः देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।


