
झापा, १४ जेठ । झापाको बाह्रदशी गाउँपालिकामा ट्रयाक्टरबाट लडेर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
गत जेठ १० गते दिउँसो बाह्रदशी गाउँपालिका–३ स्थित गणेश गिरीको घर आँगनमा मे १ त ६२६८ नम्बरको ट्रयाक्टरमा बालुवा अनलोड गर्ने क्रममा सोही ट्रयाक्टरमा कार्यरत वर्ष ३३ का शिवलाल हेमरम अचानक ट्रयाक्टरबाट लडेर घाइते भएका थिए । लड्दा उनको पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते हेमरमलाई तत्काल स्थानीय राजगढ मेडिकलमा उपचार गराइएको थियो । प्रारम्भिक उपचारपछि चोट सामान्य देखिएकाले डिस्चार्ज गरिएको थियो । तर, जेठ १२ गतेदेखि पेट दुखाइ बढेपछि उनलाई थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो ।
उपचारकै क्रममा जेठ १३ गते राति १२ः२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ । घटनासम्बन्धी अनुसन्धानका लागि बाह्रदशी गाउँपालिका–२ घर भई वडा नम्बर ३ बस्दै आएका लक्किराम टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


