
झापा, १५ जेठ । झापाको गौरीगञ्ज र मेचीनगरबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
गौरीगञ्ज गाउँपालिका–२ आपगाँछी बोर्डर क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आमा–छोरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
बिहीबार साँझ लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोली र बीओपी आँपगाछीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भारतको किशनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत–४ की करिब ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरीको साथबाट ब्राउनसुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ प्लाष्टिकसहित २३ ग्राम २९० मिलिग्राम तथा प्लाष्टिक बाहेक २० ग्राम ३०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, मेचीनगर नगरपालिका–६ पुरानो मेची पुल क्षेत्रमा पनि प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो ३ः३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतको पानीट्यांकीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका मेचीनगर–३ बस्ने ३२ वर्षीय दुखु मियाँलाई शंकाको आधारमा जाँच गरेको थियो ।
जाँचका क्रममा साइकलको सिटमुनि लुकाइ राखिएको खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ प्लाष्टिकसहित २ ग्राम ५२० मिलिग्राम तथा प्लाष्टिक बाहेक २ ग्राम १७० मिलिग्राम रहेको बताइएको छ ।
प्रहरीले लागूऔषध र साइकलसहित दुखु मियाँलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ ।


