
झापा, १९ जेठ । झापाको मेचीनगरबाट लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।
मंगलबार बिहान ११ः४५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका चौधरीलाई सोधपुछ तथा खानतलासी गर्दा उनले मलद्वारभित्र लुकाएर राखेको अवस्थामा प्लास्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो।
बरामद गरिएको लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


