
बिर्तामोड, २० जेठ । झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई लक्षित गरी मानसिक स्वास्थ्य तथा जीवन उपयोगी सीप सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका वडा नं. ५ को समन्वय तथा साझा पुस्ता नेपाल र एबीसी नेपाल झापाको आयोजनामा भएको कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए। कार्यक्रमको उद्घाटन वडाध्यक्ष रोहित प्रसाईले गर्दै सकारात्मक सोच र जीवन उपयोगी सीपले जीवनलाई उर्जाशील तथा लक्ष्यउन्मुख बनाउन मद्दत गर्ने बताउनुभयो।
सहजकर्ता लता खरेलले सकारात्मक सोच, समय व्यवस्थापन, जोखिम व्यवस्थापन, शारीरिक तथा मानसिक परिवर्तन, अभिभावक र शिक्षकको सम्मान तथा व्यक्तित्व विकासलगायत विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा वडा सदस्य ओमभक्त सेढाई, सहायक प्रधानाध्यापक लीला भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट उपयोगी ज्ञान प्राप्त भएको भन्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।


