
बिर्तामोड, २० जेठ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक डेरा कोठाबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मङ्गलबार साँझ करिब ७ बजे भानुभक्त उप्रेतीको घरमा डेरा गरी बस्ने व्यक्तिहरूले लागूऔषध बिक्री–वितरण गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा डेरा कोठाभित्र रहेको जेब्रा झोलामा प्लास्टिकका चार वटा पोका बनाई राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ डिजिटल तराजुबाट तौल गर्दा ५ किलो ९० ग्राम रहेको थियो।
प्रहरीले गाँजासहित अर्जुनधारा नगरपालिका–७ निवासी ३० वर्षीय बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ खैरान घर भएका अन्दाजी २० वर्षीय सागर राईलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


