
झापा, २० जेठ । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि चेकजाँच गरेको थियो।
सो क्रममा झापा दमक नगरपालिका–१० निवासी ३२ वर्षीय सुरज रायको साथबाट कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ६ ग्राम १ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम सोही प्रकारको पदार्थ फेला परेको थियो। दुवै जनाको साथबाट बरामद भएको लागुऔषधको कुल परिमाण १४ ग्राम ७१ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ। घटनाबारे आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


