
अर्जुनधारा, २० जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयका विद्यार्थीाई शैक्षिक सामग्री, प्रोत्साहन रकम र विद्यालय पोशाक प्रदान गरिएको छ ।
आज एक विशेष कार्यक्रमका बीच विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री, एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहन रकम र १०५ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा (आकाश) को अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्य रहेको थियो ।
नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको नगर प्रमुख गोम्देनले बताउनुभयो । पछिल्लो समय महारानीगञ्ज माविले शैक्षिक गुणस्तर सुधार गर्दै लगेको बताउनुहुँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्र सामुदायिक विद्यालयतर्फ विद्यार्थी र अभिभावकको ध्यान खिच्न सकिने भएकाले शिक्षक÷कर्मचारीहरूले अझ मेहनत गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा शिक्षासेवी वीरबहादुर राईले एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन रकम प्रदान गर्नुभएको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी भई ए प्लस, ए ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई नगद ४ हजार, बी प्लस ल्याउने विद्यार्थीलाई नगद ३ हजार र बी ल्याउने विद्यार्थीलाई नगद २ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
त्यस्तै, कार्यक्रममा बालशिक्षा देखि कक्षा–१० सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सामाजिक संस्था मनोरम फाउण्डेसन काठमाडौंले विद्यालयमा अध्ययनरत ३०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
त्यसैगरी, कार्यक्रममा विद्यालयका १०५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । विभिन्न दाताको सहयोगमा विपन्न तथा जेहन्दार विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेव सिंह गोम्देन, शिक्षासेवी वीरबहादुर राई, मनोरम फाउण्डेसनका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम, व्यवस्थापन समिति अध्यक्ष नन्दलाल खतिवडा लगायतले विद्यार्थीहरूलाई शैक्षिक सामग्री, प्रोत्साहन रकम र विद्यालय पोशाक वितरण गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो । विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गर्नुका साथै शैक्षिक तथा भौतिक विकासका सरोकारवाला निकायसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्नुहुने दाताहरूलाई धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले विद्यालयमा अधिकांश विद्यार्थी विपन्न दलित सीमान्तकृत भएकाले विभिन्न संघसंस्था एवम् दाताहरूलाई सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
महारानीगञ्ज माविमा बाल कक्षादेखि कक्षा–१० सम्म पठनपाठन हुँदै आएको छ । बाल कक्षादेखि कक्षा–५ सम्म अंग्रेजी माध्यम र कक्षा–६ देखि कक्षा–१० सम्म नेपाली माध्यममा पठनपाठन हुँदै आएको विद्यालयका अंग्रेजी ब्लक इञ्चार्ज समिरबाबु कट्टेलले जानकारी दिनुभयो ।
२१ जना शिक्षक/ कर्मचारी रहेको महारानीगञ्ज माविको शैक्षिक गुणस्तरमा सुधार समेत हुँदै गएको छ । गत शैक्षिक सत्र–२०८२ को कक्षा–८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ महारानीगञ्ज मावि अर्जुनधारा नगरपालिकाकै प्रथम र एसईईमा नगरकै दोस्रो भएको छ ।


