
सिरहा, २१ जेठ । माध्यमिक शिक्षा परीक्षा ९एसईई०का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ मोबाइल फोन र पाँच वटा स्मार्टवाच सिरहामा नष्ट गरिएको छ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका बेला जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात आइफोनसहित ४८९ एन्ड्रोइड मोबाइल र पाँच स्मार्टवाच बरामद गरिएको थियो। परीक्षा सञ्चालन निर्देशिकाविपरीत प्रयोग भएको भन्दै ती उपकरण नष्ट गरिएको हो।
जिल्ला परीक्षा समन्वय समिति सिरहाले शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा उपसमिति गठन गरी बरामद सामग्री व्यवस्थापन तथा नष्ट गर्ने निर्णय गरेको थियो।
उपसमिति संयोजक यादवका अनुसार मोबाइल र स्मार्टवाचलाई जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा राखेर प्रयोग गर्न नमिल्ने गरी नष्ट गरिएको हो। बरामद उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। मधेस प्रदेशमा एसईई परीक्षाका क्रममा बरामद मोबाइल यति ठूलो सङ्ख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


