
अर्जुनधारा, २२ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ मा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
‘सबैका लागि आँखा स्वास्थ्य र दृष्टि’ भन्ने नाराका साथ आज निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । अर्जुनधारा–४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा आयोजित शिविरमा २२४ जनाले सेवा लिएका छन् ।
बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा र अर्जुनधारा नगरपालिका, अर्जुनधारा वडा नम्बर ४ को कार्यालय र दहीझोडा सामुदायिक वनको संयुक्त आयोजनामा भएको आँखा शिविरमा ५८ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो ।

शिविरमा आँखा प्राविधिक बिनोद दाहालले आँखा परीक्षण गर्नुभएको थियो । परीक्षणका क्रममा दुई जनामा ऐजेरु र १७ जनामा मोतिबिन्दु समेत फेला परेको दहिझोडा सामुदायिक स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी रोशन बरालले जानकारी दिनुभयो ।


