
झापा, २४ जेठ । झापा जिल्लाको मेचीनगर नगरपालिका–४ स्थित माता चोक नजिकको भित्री पैदल मार्गको छेउमा शनिबार राति १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ।
स्थानीयबासीले सर्प देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिई प्रहरी चौकी बाहुनडाँगीमा राखेको छ ।
यस सम्बन्धमा डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको प्रहरीले जनाएको छ । वन कार्यालयको टोली आइतबार बिहान घटनास्थलमा पुगेर अजिङ्गरको उद्धार तथा उपयुक्त प्राकृतिक वासस्थानमा पुनःस्थापनाको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । प्रहरीले वन्यजन्तु देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।


