
झापा, २६ जेठ । झापाको दमक नगरपालिका–६ स्थित दमक नगरपालिकाको कार्यालय अगाडि प्रतिबन्धित लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।
दमक नगरपालिकाको कार्यालय आगाडि प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमबार शंकास्पद अवस्थामा हिँडिरहेका पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्बाङलाई नियन्त्रणमा लिई जाँच गरेको थियो ।
जाँचका क्रममा नेम्बाङले लगाएको पाइन्टको बायाँ खल्तीबाट प्लास्टिकमा पोका पारी लुकाइराखेको ४ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद लागुऔषधसहित नेम्बाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


