
झापा, २ असार । भारतले नेपाली चियाको आयातमा नयाँ प्रावधान लागू गर्दै निर्यात प्रक्रियामा अवरोध सिर्जना गरेपछि पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन्। यसको प्रत्यक्ष असरस्वरूप इलामका ५३ वटा चिया उद्योग बन्द भइसकेका छन् भने झापाका ३० वटा उद्योग पनि बुधबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन्।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार चिया बोकेको प्रत्येक गाडीको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने तथा नतिजा प्राप्त नभएसम्म चिया बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा नेपालमै फिर्ता ल्याउनुपर्ने बाध्यता पनि राखिएको छ।
सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालले भारतको यो निर्णयले नेपाली चियाको निर्यातलाई निरुत्साहित गरेको जनाएको छ। एसोसिएसनले नयाँ नियम पालना गर्दै चिया निर्यात गर्न व्यावहारिक रूपमा असम्भव भएको निष्कर्ष निकाल्दै असार १ गतेदेखि इलामका उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार वर्तमान संकट विगतमा देखिएका प्राविधिक अवरोधभन्दा धेरै गम्भीर प्रकृतिको छ। उहाँले पहिले भन्सार नाकामा केही दिन चिया रोकिए पनि अहिले बजार तथा गोदाममा पुगिसकेको चिया समेत बिक्री गर्न नपाइने र नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएकाले उद्योगीहरू व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको बताउनुभयो।
यता, मुख्यतः सीटीसी (दानादार) चिया उत्पादन गर्ने नेपाल चिया उत्पादक संघले पनि असार ४ गतेदेखि झापाका साना–ठूला गरी ३० वटा चिया उद्योग तथा दर्जनौँ चिया बगान बन्द गर्ने घोषणा गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले लगाएको गैरभन्सार अवरोध नहटाएसम्म उद्योग र बगान सञ्चालनमा नआउने स्पष्ट पार्नुभयो।
भारतीय बजारमा पुगिसकेको दुई लाख किलोभन्दा बढी तयारी अर्थोडक्स चिया हाल भारतीय गोदामहरूमा रोकिएको छ। त्यसैगरी निर्यात ठप्प भएपछि नेपालभित्रका उद्योगहरूमा पनि लाखौँ किलो तयारी चिया थन्किएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो।
उद्योग बन्द हुँदा यसको सबैभन्दा ठूलो असर चिया खेतीमा निर्भर किसान र श्रमिकहरूमा परेको छ। चिया क्षेत्रमा प्रत्यक्ष रूपमा आबद्ध करिब ५० हजार किसान तथा लाखौँ श्रमिकको रोजगारी र जीविकोपार्जन संकटमा परेको उद्योगीहरूको भनाइ छ।


