
बिर्तामोड, २ असार । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा एक राजवंशी समुदायकी महिलामाथि भएको अमानवीय व्यवहार र सार्वजनिक अपमानजनक घटनाप्रति मानव अधिकार सञ्जाल झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्जालका अध्यक्ष डा. रुपकप्रसाद खनाल र सचिव दिपक दासद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा उक्त घटनामा महिलामाथि कालो मोसो दल्ने, सार्वजनिक रूपमा अपमानित गर्ने तथा भीडको बीचमा दुर्व्यवहार गरिएको उल्लेख गर्दै यसले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको जनाइएको छ ।
संविधानको धारा १६ मा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २२ अन्तर्गत यातनाविरुद्धको हक तथा धारा ३८ मा सुनिश्चित महिलाको अधिकारमाथि गम्भीर आघात पुगेको सञ्जालको ठहर छ । कानुन आफ्नै हातमा लिएर भीडलाई प्रश्रय दिने कार्य दण्डनीय अपराध भएको सञ्जालको भनाइ छ ।
घटनाको निष्पक्ष र दबाबमुक्त अनुसन्धान गर्न, संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन तथा भीडमा सहभागी भई भिडियो खिच्ने, उत्तेजना फैलाउने र घटनालाई बढावा दिने व्यक्तिहरूको समेत पहिचान गरी कारबाही गर्न सञ्जालले स्थानीय प्रशासन र प्रहरीसमक्ष माग गरेको छ ।
त्यसैगरी, पीडिताको अनुमति बिना सामाजिक सञ्जालमा प्रसारण गरिएका तस्बिर तथा सामग्री तत्काल हटाउन र साइबर अपराध नियन्त्रणका लागि आवश्यक कदम चाल्न पनि सञ्जालले आग्रह गरेको छ ।
यस्ता अमानवीय तथा अपमानजनक घटनाको पुनरावृत्ति हुन नदिन नागरिक समाज, सरोकारवाला निकाय तथा समुदायलाई संवेदनशील र जिम्मेवार बन्न मानव अधिकार सञ्जाल झापाले अपिल गरेको छ ।


