
झापा, २ असार । देशभरका १३८ भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा कुल रु ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ राजस्व सङ्कलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उक्त राजस्वमध्ये रजिष्ट्रेसन दस्तुरबाट रु २ अर्ब ७८ करोड, पुँजीगत लाभकरबाट रु २ अर्ब १२ करोड र सेवा करबाट रु २८ करोड ६६ लाख सङ्कलन भएको छ ।
उपत्यकाका कार्यालयहरूमध्ये डिल्लीबजारले रु ३४ करोड, चाबहिलले रु ३१ करोड ४२ लाख र टोखाले रु १० करोड ९९ लाख राजस्व उठाएका छन् ।
जेठ महिनाको यो राजस्व अघिल्ला महिनाहरूको तुलनामा केही घटेको देखिन्छ । गत वैशाखमा रु ६ अर्ब २६ करोड र चैतमा रु ६ अर्ब १६ करोड राजस्व सङ्कलन भएको थियो । त्यस्तै, फागुनमा रु ४ अर्ब १४ करोड र माघमा रु ५ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।


