
शिवसताक्षी, २ असार । झापाको शिवसताक्षी नगरपालिकाले माइधार बजार क्षेत्रमा छड्के बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ।
नगरपालिकाका अनुसार खाद्य सामग्री बिक्री–वितरण गर्ने पसल तथा दुग्ध डेरी गरी १० वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकारी किराना पसलबाट केही म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको थियो । बरामद गरिएका सामग्रीमा फ्रुटी, लेज, खुल्ला पापड, मिट मसला, खाने ट्याङ्क लगायतका उपभोग्य वस्तु रहेका थिए। ती सामग्रीलाई अनुगमन टोलीले तत्काल डिस्पोज गरेको नगरपालिकाले जनाएको छ।
त्यसैगरी सन्तोषी होटल, विन्दाबासिनी देवी किराना, श्रेष्ठ किराना पसल, शिव सप्लायर्स, नवीन कोल्ड सेन्टर, सिटौला ट्रेडर्स, मुना किराना तथा लक्ष्मी माता दुग्ध डेरीमा समेत छिटफुट रूपमा म्याद गुज्रिएका सामग्री फेला परेको अनुगमन समितिकी संयोजक तथा नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले समय–समयमा बजार अनुगमन गर्दै आएको छ। निरन्तरको अनुगमनका कारण पछिल्ला दिनमा म्याद गुज्रिएका, लेबल नभएका तथा अखाद्य वस्तुको बिक्री–वितरणमा उल्लेखनीय कमी आएको उहाँको भनाइ छ।
अनुगमनमा योजना अधिकृत प्रकाश चौधरी, वडा सदस्य दिपक पोख्रेल, कृषि शाखाका कर्मचारी, नगर प्रहरी तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगरपालिकाले व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील बन्न, म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री–वितरण नगर्न र खाद्य सामग्रीको म्याद तथा गुणस्तर नियमित रूपमा परीक्षण गर्न आग्रह गरेको छ।


