
सन्तोष शर्मा
झापा, ४ असार । नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि चिया उद्योग र चिया बगान बन्द गरेका छन् ।
भारतीय अवरोधका कारण नेपाली चिया निर्यात गर्न नसक्ने अवस्था सिर्जना हुनुका साथै गोदामै तयारी चिया थन्किएपछि बाध्य भएर उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।
“भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी)ले चिया निर्यात ठप्प भएको छ”, उहाँले भन्नुभयो, “निर्यात खुलाउन पहल हुन्छ, कुनै उपाय निस्किन्छ भनेर डेढ महिना पर्खियौं, निकास ननिस्किएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेका हौं ।”
उत्पादित चिया बिक्री गर्न नसकिएपछि हरियो पत्ति किन्न र मजदुरलाई ज्याला दिन नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
विश्वस्तरीय चिया प्रतियोगितामा छ वटा विधामध्ये चार वटा विधामा नेपाली चियाले उत्कृष्टता हासिल गरेको बताउनुहुँदै अध्यक्ष पराजुलीले गुणस्तरको बहानामा भारतले नेपाली चिया रोकेको आरोप लगाउनुभयो ।
“भू–राजनीतिको चपेटामा नेपाली चिया परेको हो कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “यसलाई नेपाली चियामाथि अघोषित नाकाबन्दीको रुपमा लिएका छौं ।” चियालाई हेर्ने नेपाल सरकारको दृष्टिकोण सकारात्मक नहुँदा बर्सेनि नेपाली चियाले समस्या झेल्नु परेको उहाँले बताउनुभयो ।
बंगलादेश, पाकिस्तान लगायतको तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने विकल्प रहेको बताउनुहुँदै अध्यक्ष पराजुलीले सोका लागि सरकारी पक्षले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको संघका महासचिव शुक्र दाहालले बताउनुभयो ।
चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्नुका साथै राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ करसमेत बुझाउँदै आएको उद्योगीहरूको भनाइ छ ।
भारतीय चिया बोर्डको नयाँ व्यवस्था अनुसार विभिन्न गुणस्तर परीक्षण, अपारदर्शी परीक्षण प्रक्रिया तथा भण्डारणसम्बन्धी जटिलताका कारण भारततर्फ चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको जनाइएको छ ।
निर्यात गरिएका चियाहरू भारतीय खरिदकर्ताको गोदाममा राख्नुपर्ने, चिया बोर्डले नमुना परीक्षणका लागि लैजाने तथा परीक्षण प्रतिवेदन आउन २० देखि २५ दिनसम्म लाग्ने जनाइएको छ । सो अवधिमा गोदाममा थन्किएको चियाको गुणस्तरमा समेत ह्रास आउने र परीक्षण प्रतिवेदन प्रतिकूल आएमा चिया नष्ट गर्नुपर्ने अवस्था रहेको संघका उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो ।
“परीक्षण अवधिभरको गोदाम शुल्क उद्योगीहरूले नै तिर्नुपर्ने व्यवस्थाले थप समस्याको भएको छ”, उहाँले भन्नुभयो, “चिया निर्यात हुन नसक्दा किसानलाई हरियो चियापत्तीको मूल्य, विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) समयमै भुक्तानी गर्न कठिनाइ भएको छ ।”
निरन्तर बढ्दो समस्याका कारण उद्योग सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । संघमा आबद्ध ३२ वटा चिया उद्योग बन्द गरिने जनाइएको छ ।


