चितवन, ७ असार । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे आफूले संसद्मा दिएको अभिव्यक्तिको बचाउ गर्दै ब्रिटिस सरकारलाई मध्यस्थकर्ता बनाउन खोजेको नभई ऐतिहासिक प्रमाणको सन्दर्भमा कुरा गरेको स्पष्ट पार्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी र लिपुलेक नेपालको भूमि भएको पर्याप्त प्रमाण नेपालसँग रहेको बताउनुभयो।
“हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो। कालापानी–लिपुलेकको प्रमाण हामीसँग छ। ब्रिटिस शासनकालका अभिलेख र प्रमाणको कुरा गरेका हौँ, ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने धारणा दोहोर्याउनुभयो। साथै, आफ्नो राष्ट्रियताप्रति प्रश्न उठाइनु दुःखद भएको उल्लेख गर्दै “मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन” भन्नुभयो।
गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्ने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुन सक्ने भन्दै दुवै पक्ष बसेर तथ्य हेर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो। साथै, सीमा सम्बन्धी विषयमा बेलायत सरकारसँग पनि कुरा गरिएको बताउनुभएपछि उक्त भनाइ विवादमा परेको थियो।


