
बुद्धशान्ति, १६ असार । झापाको बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति पदेन सदस्य अनिल वाग्लेको विशेष पहलमा वडा नं. १ का सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ र परिणाममुखी कार्यक्रमहरू लागू गर्न थालेका छन् ।
विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सर्वसम्मत निर्णयपछि विद्यालयहरूले विद्यार्थीको सिकाइ, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाएका हुन् । यस अभियान अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालय, होक्सेले प्रत्येक महिनाको अन्तिम सातामा मासिक परीक्षा सञ्चालन गर्ने, उत्कृष्ट विद्यार्थीलाई ‘स्टुडेण्ट अफ द मन्थ’ घोषणा गरी सम्मान गर्ने लगायतका कार्यक्रम सुरु गरिसकेको छ।
विद्यालयका प्रधानाध्यापक कुमार आचार्यका अनुसार यी कार्यक्रमहरू विद्यार्थीलाई नियमित अध्ययन, अनुशासन र स्वस्थ प्रतिस्पर्धाप्रति उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका हुन् । नमूना आधारभूत विद्यालय बुद्धशान्ति–१ ले पनि शैक्षिक सुधारका थप महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
विद्यालयले मासिक परीक्षा सञ्चालन, हरेक महिना स्टुडेन्ट अफ द मन्थ अवार्ड प्रदान गर्ने, वार्षिक रूपमा तहगत उत्कृष्ट शिक्षक छनोट गरी सम्मान गर्ने, प्रत्येक कक्षामा साप्ताहिक दुई पिरियड अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, सदन प्रणाली लागू गर्ने तथा एसेम्ब्ली स्पिचमा विद्यार्थीको अनिवार्य सहभागिता गराउने निर्णय गरेको छ ।

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार आचार्यका अनुसार वडाध्यक्ष अनिल वाग्लेले अघि सार्नुभएको शैक्षिक सुधारको अवधारणालाई विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघले सर्वसम्मत रूपमा अनुमोदन गरेपछि विद्यालयहरूले योजनाबद्ध रूपमा कार्यान्वयन सुरु गरेका हुन् । ‘विद्यार्थीलाई केवल परीक्षामुखी होइन, समग्र रूपमा सक्षम, आत्मविश्वासी र सिर्जनशील बनाउने लक्ष्यका साथ यी कार्यक्रम अघि बढाइएका हुन्’, उहाँले भन्नुभयो ।
नमूना आधारभूत विद्यालयकी प्रधानाध्यापक गायत्रीदेवी ढुङ्गेलले यस्ता कार्यक्रमहरूले विद्यालयको शैक्षिक वातावरणलाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्ता नवीन कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको रुचि, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । शैक्षिक सुधारमा यस्ता अभियानले थप टेवा पुग्ने हाम्रो अपेक्षा छ ।’
बुद्धशान्ति–१ बाट सुरु भएको यो अभ्यास अन्य विद्यालयहरूले पनि आत्मसात गर्दै आफ्नै आवश्यकता अनुसार नयाँ–नयाँ अवधारणा विकास गरी कार्यान्वयन गर्न सके समग्र सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अझ उकास्न ठूलो योगदान देखिन्छ ।
वडाध्यक्ष अनिल वाग्लेले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन परम्परागत शिक्षण प्रणालीसँगै नवीन अभ्यास आवश्यक रहेको बताउँदै विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको साझा प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । वडा नं. १ का दुई विद्यालयबाट सुरु भएको यो शैक्षिक सुधार अभियानलाई सामुदायिक शिक्षामा सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।


