
झापा, १७ असार । झापाको झापा गाउँपालिका–४ चौधरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेपछि चेकजाँच गरेको थियो ।
जाँचका क्रममा दमक नगरपालिका–८ का ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य किशनगञ्ज जिल्ला दिघलबैंक थाना अन्तर्गत कुतुवाभिट्टा का १९ वर्षीय अब्दुल रहमानको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ ल्याइएको लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद पदार्थको तौल प्लास्टिकसहित २८ ग्राम ५३ मिलिग्राम र प्लास्टिकबाहेक २५ ग्राम १९ मिलिग्राम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


