
झापा, २३ असार । कोशी प्रदेश प्रहरीको लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत लागुऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्शरजनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ८० मिलिग्राम, गाँजा १ केजी ५६० ग्राम, ट्यापेन्टाडोल र ट्रामाडोल १०१ चक्की, नगद ३० हजार रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिन्धुलीको दुधौली नगरपालिका–१२ का हाल जिल्ला उदयपुर कटारी नगरपालिका–३ कान्छिबजार बस्दै आएका २९ वर्षीय मिलन सुनुवारको घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ट्यापेन्टाडोल ९० चक्की र ट्रामाडोल ११ चक्की प्रतिबन्धित लागू औषध र नगद ३० हजार रुपैयाँ बरामद गरी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–१५ निवासी २३ वर्षीय सिद्धार्थ कुमार शाहको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको १ केजी ५६० ग्राम गाँजा बरामद गरी उनलाई पक्राउ गरेको छ ।
त्यसैगरी, अस्थायी प्रहरी चौकी गरामनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–९ स्थितमा बिर्तामोड नगरपालिका–४ का २५ वर्षीय प्रदीप दाहाललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी बा.प्र.–०२–००६ प.९९५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।


