
झापा, २४ असार । झापाको बिर्तामोडमा सञ्चालन गरिएको लागुऔषध तथा मादक पदार्थ सेवन र सवारी साधनको यान्त्रिक अवस्थासम्बन्धी विशेष चेकजाँच अभियानमा लागुऔषध सेवन गरेका पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिर्तामोड नगरपालिका–६ मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा चेकजाँच गरिएको हो।
अभियानका क्रममा १०१ वटा सवारी साधनको जाँच गरिएको थियो। ब्रेथलाइजर परीक्षणका क्रममा एक जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। त्यसैगरी, शंकास्पद चालक तथा सहचालकमाथि लागुऔषध परीक्षण किटमार्फत गरिएको परीक्षणमा पाँच जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको छ।
लागुऔषध सेवन गरेको पुष्टि भएका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यसैबीच, सवारी साधनको यान्त्रिक अवस्था परीक्षण गर्दा मापदण्डविपरीत रहेका २१ वटा सवारी साधनलाई कारबाही गरी १० हजार ५०० राजस्वसमेत संकलन गरिएको प्रहरीले जनाएको छ।


