
भद्रपुर, २८ असार । झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर पुस्तकालयको पुनःसञ्चालनका लागि अभियान शुरु गरिएको छ । जीर्ण अवस्थामा रहेको पुस्तकालय भवन पुनःनिर्माण गर्नुका साथै युग अनुकूलको पुस्तकालय बनाउने योजनासहित अभियान शुरु गरिएको हो ।
प्रेस क्लब भद्रपुरको पहलमा शनिबार भद्रपुर–८ स्थित डे–ग्लोमा भएको भद्रपुर पुस्तकालयको जीर्णोद्वार, पुनरूत्थान तथा सुसञ्चालनका लागि सार्वजनिक विमर्शका सहभागीले २००७ सालमा स्थापित भद्रपुर पुस्तकालय नगरको ऐतिहासिक धेरोहर रहेको बताउँदै त्यसको संरक्षण गर्नुका साथै युग सुहाउँदो पुस्तकालय सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यका लागि सेवा निवृत्त सहप्राध्यापक चिन्तामणि दाहालको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको भेलाले बढीमा नौ सदस्यीय समिति रहने निर्णय गरेको छ । समितिले आवश्यकताअनुसार सल्लाहकार र संरक्षकसमेत मनोनयन गर्न सक्ने संयोजक दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले नगरपालिकाले यस आर्थिक वर्षको बजेटमै पुस्तकालय पुनःसञ्चालनका लागि केही रकम विनियोजन गरेको उल्लेख गर्दै पुनर्जीवन अभियानलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पहिलो चरणमा जीर्ण भवन हटाउने, पुस्तकालयमा रहेको पुस्तकालयको र ऐतिहासिक दस्तावेजको संरक्षण गरिने बताउनुभयो ।
सार्वजनिक विमर्श कार्यक्रममा उपप्रमुख राधा कार्की, वडा नं. ८ का अध्यक्ष गौरव सुब्बा, वडा नं. ७ का अध्यक्ष अभिषेक ढुंगाना तथा वडा नं. ५ का अध्यक्ष बन्धु कार्कीले ऐतिहासिक महत्व बोकेको पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका पूर्ण रूपमा सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।
भेलामा पुस्तकालयका पूर्वअध्यक्ष हुलासचन्द सरिया, झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता, उद्योग संघका निवर्तमान अध्यक्ष यमबहादुर श्रेष्ठ, तत्कालीन चन्द्रगढी गाविस अध्यक्ष दुर्गा भट्टराई, प्राडा पृथ्वीविक्रम राई, नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, पुस्तकालयका पूर्वकर्मचारी रमेश भुर्तेल, समाजसेवी यशोदा कोइराला, गुरुकुलकी अध्यक्ष शान्ता बराल तथा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईलगायतले ऐतिहासिक पुस्तकालयको पुनःसंरचना र नियमित सञ्चालन अपरिहार्य भएको बताउनुभयो ।

प्रेस क्लब भद्रपुरका सचिव द्रोण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार गोपाल गिरी र निवर्तमान महासचिव डिल्लीरमण नेपालले संयुक्त रूपमा गर्नुभएको थियो ।


