
झापा, २९ असार । झापा प्रहरीले भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट भन्सार छली गरी लुकाइछिपाइ राखिएको ठूलो परिमाणको खरबुजाको बिउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ६ बजे भद्रपुर–३ ज्ञानेचोक निवासी भिमलाल सुवेदीको घरमा अवैध रूपमा भन्सार छली गरी सामान भण्डारण गरिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक बशुन्धरा खड्काको कमाण्डमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको ५५ सदस्यीय संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
घरका दुई वटा कोठामा राखिएका बोराहरू जाँच गर्ने क्रममा ९४८ बोरा खरबुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


