
भद्रपुर, ३ साउन । झापामा गत आर्थिक वर्ष २०८२र०८३ मा भएका विभिन्न प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार ९ सय ५९ बराबरको धनमालको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लाभर ३५९ वटा विपद्का घटना अभिलेख भएका छन्। ती घटनामा ३७ जना घाइते भएका छन्।
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी १५६ वटा आगलागी, ९४ वटा जङ्गली हात्ती तथा अन्य वन्यजन्तुको आक्रमण, ५२ वटा हुरी, ३५ वटा बाढी तथा डुबान र २२ वटा चट्याङका घटना भएका छन्।
विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट छ जना, हुरीबाट एक जना तथा चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, प्राकृतिक विपद्का कारण ८ हजार ९१४ वटा चौपाया तथा पशुपन्छी मरेका छन्। तीमध्ये हुरीबाट ३ हजार २० र आगलागीबाट ५ हजार ६६२ पशुपन्छी नष्ट भएका छन्।
आर्थिक क्षतितर्फ सबैभन्दा बढी आगलागीबाट रु १५ करोड २२ लाखभन्दा बढी र बाढी तथा डुबानबाट रु ६ करोड ३४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


