
विराटनगर, ३ साउन । मोरङको कानेपोखरी गाउँपालिकास्थित सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्।
प्रहरीका अनुसार साउन १ गते राति करिब ११ बजे कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले चेकजाँचका क्रममा को ३४ प ५७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंकाको आधारमा रोकेको थियो। सोधपुछ र खानतलासीका क्रममा चोरीका सामग्री फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले उक्त सामग्री सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट तामाका ६० वटा कलश, ४६ वटा दियो, १२ वटा घण्टी, तीन वटा तामाका थाली, ६२ वटा ढकी डलर, नगद ६६५ रुपैयाँ तथा चोरीमा प्रयोग गरिएको स्कुटर बरामद गरेको छ। साथै, ताला फुटाउन तथा चोरी गर्न प्रयोग गरिने विभिन्न औजारसमेत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।


