
अगरतला, ४ साउन । भारतीय राज्य त्रिपुराका प्रहरी महानिर्देशक (डीजीपी) अनुराग धनखड सोमबार अगरतलास्थित राज्य प्रहरी मुख्यालयमा रहेको आफ्नै कार्यालयभित्र मृत फेला परेका छन्।
प्रहरीका अनुसार धनखड कार्यालयसँगै रहेको शौचालयमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल अगरतला सरकारी मेडिकल कलेज तथा गोविन्द बल्लभ पन्त अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
अस्पतालका चिकित्सा विभाग प्रमुख डा. प्रदीप भौमिकका अनुसार धनखडलाई कुनै पनि जीवनचिन्ह नभएको अवस्थामा अस्पताल ल्याइएको थियो। शवको पोस्टमार्टम प्रक्रिया सुरु गरिएको छ र रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको जानकारी पाएलगत्तै त्रिपुराका मुख्यमन्त्री माणिक साहा, मुख्य सचिव जेके सिन्हालगायत प्रदेश सरकारका वरिष्ठ अधिकारी अस्पताल पुगेका थिए।
सन् १९९४ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी धनखडले गत वर्ष मे १७ मा त्रिपुराका प्रहरी महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनी प्रहरी महानिर्देशक (गुप्तचर)का रूपमा कार्यरत थिए भने करिब आठ वर्ष भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)मा पनि सेवा दिएका थिए। उनले सन् २००३–०४ मा कोसोभोस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा समेत काम गरेका थिए।


