
बागलु १० साउन । बागलुङमा मोबाइल नदिएको विषयमा भएको सामान्य विवादले ज्यानै जाने दुःखद घटना भएको छ। बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या उनकै साथीहरूले गरेको खुलेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
लजिन साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका थिए। त्यसयता उनी सम्पर्कविहीन भएका थिए। लामो खोजीपछि बिहीबार स्थानीय मनखोलामा उनको शव फेला परेको हो।
प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार जन्मदिन मनाउने क्रममा साथीहरू रातिसम्म मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरूबीच विवाद भएको र त्यसपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार कुटपिटपछि लजिनको मृत्यु भएको थाहा पाएपछि आरोपितहरूले शव घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा लगेर लुकाएका थिए। अनुसन्धानबाट जन्मदिन कार्यक्रममा सात जना सहभागी रहेको र अन्य साथीहरू फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याउँदै एकान्त स्थानमा लगेर आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाको राति करिब २ः३० बजेसम्म उनीहरू स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जन्मदिन कार्यक्रममा नौ वर्षीय एक बालकसमेत सहभागी रहेको प्रहरीको भनाइ छ।
एक सातासम्म लजिनको अवस्था अज्ञात रहेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा मनखोलामा उनको शव फेला परेको हो।
प्रहरीले पक्राउ परेकामाथि व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। काठमाडौँको धुम्रबाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि बिदाका लागि घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूको कुटपिटबाट ज्यान गुमाउन पुगेका हुन्।


