
झापा, ११ साउन । झापामा जापानीज इन्सेफ्लाइटिस रोगबाट एक महिलाको मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल भद्रपुरका अनुसार हल्दिबारी–२ निवासी मोहन राजवंशीकी श्रीमती प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट हिजो मृत्यु भएको हो । सोही अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।
हल्दिबारी गाउँपालिका–२ कदम चोकमा व्यवसाय गर्दै आएकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
प्रमीलालाई दुई दिनअघि एक्कासी स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । त्यसलगत्तै हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो । सेतो लामखुट्टेको टोकाइका कारण यो रोग लाग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जयकुमार गुप्ताले जानकारी दिनुभयो ।


