
झापा, २ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गराउन नेपाली कांग्रेस झापाले जिल्लाका १३१ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ।
महाधिवेशनका लागि तय गरिएको निर्वाचन निर्देशिका तथा पार्टी विधानमा व्यवस्था गरिएका विषयमा निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिएर वडा–वडामा पठाइएको हो।
प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत दिव्यराज घिमिरेले सहमति, सहकार्य र एकताको भावनाका साथ वडा अधिवेशनलाई सफल बनाउन निर्वाचन अधिकृतहरूलाई आग्रह गर्नुभयो। उहाँका अनुसार निर्वाचन निर्देशिकाबमोजिम वडा अधिवेशनबाट ६ पदाधिकारीसहित न्यूनतम १७ सदस्यीय वडा समिति निर्वाचित हुनेछ।
यस्तै, क्रियाशील सदस्यको संख्याका आधारमा न्यूनतम २३ देखि अधिकतम ७५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने घिमिरेले जानकारी दिनुभयो।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले लोकतान्त्रिक पार्टीमा निर्वाचन महत्वपूर्ण प्रक्रिया भएकाले यसपटक अधिकतम सहमति, सहकार्य र एकताको माध्यमबाट सबै तहमा सर्वसम्मत नेतृत्व चयन गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।
सभापति थेवेले महाधिवेशनमा खुला, महिला, पेशागत तथा विषयविज्ञ, ३५ वर्षमुनिका युवा, समानुपातिक, अपाङ्गता, दलित, प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडित, श्रमिकलगायतका क्लस्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो। समावेशी सहभागिताले पार्टीका सबै वर्गको अपनत्व कायम हुने उहाँको भनाइ थियो।
निर्धारित कार्यतालिकाअनुसार असोज ७ गते गाउँ/नगर अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। गाउँ/नगर अधिवेशनबाट स्थानीय समिति, प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेशसभा क्षेत्रीय समिति तथा कोशी प्रदेशका लागि अधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
कांग्रेस विधानअनुसार गाउँ/नगर, प्रदेशसभा क्षेत्रीय सभापति पदमा उम्मेदवार बन्न क्षेत्रीय प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। त्यस्तै जिल्ला सभापति, प्रदेश सभापति र केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था रहेको कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो।
विधानको एघारौँ संशोधनअनुसार गाउँ/नगर तथा प्रदेशसभा क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति पदेन महासमिति सदस्य हुने व्यवस्था रहेको दाहालले बताउनुभयो।


