
झापा, २ असोज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन् । उनीहरूलाई असोज १ गते पक्राउ गरिएको हो ।
हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरू अन्य व्यक्तिको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खातामार्फत ठूलो रकम कारोबारमा संलग्न रहेको खुलेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक खातामार्फत १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ ।
पक्राउ परेका दुवै जनामाथि हुण्डीसम्बन्धी कसुर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


