
सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
सोमबार बिहानैदेखि कर्फ्यु अवज्ञा गर्दै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरेपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेनालाई समेत परिचालन गरिएको हो।
बख्तरबन्द गाडीसहित अत्याधुनिक हतियार बोकेको सेनाको टोली कप्तानगञ्ज क्षेत्रमा पुगेर सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ। सेना परिचालनपछि प्रदर्शनकारी क्रमशः तितरबितर हुन थालेका छन् र अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।
सेना पुग्नुअघि प्रदर्शनकारीले पाँच वटा पसलमा तोडफोड गर्नुका साथै सामान सडकमा निकालेर आगजनी गरेका थिए। प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत ग्यारेज र तीनवटा किराना पसलमा क्षति पुगेको छ। सुरक्षाकर्मी तत्काल पुग्न नसकेका क्षेत्रमा बढी क्षति भएको प्रशासनको प्रारम्भिक निष्कर्ष छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार अवस्था थप जटिल बनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा आवश्यक सुरक्षा कारबाही अघि बढाउनेछन्।
यसअघि आइतबार राति भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो।


