
झापा, १२ साउन । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल ले प्रहरी कर्मचारीलाई व्यक्तिगत आवश्यकताभन्दा सङ्गठनको हित र उद्देश्यलाई सर्वोपरि राखी उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गर्न निर्देशन दिएका छन्।
सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित निर्देशन कार्यक्रममा उनले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्बोधन गर्दै आपसी सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्रै सङ्गठनका लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न सकिने बताए। उनले सङ्गठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर काम गर्न सबै प्रहरी कर्मचारीलाई आग्रह गरे।
डीआईजी खनालले नेपाल प्रहरीले विगतदेखि नै विषम परिस्थितिमा समेत प्रभावकारी र नागरिकमैत्री सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी चुनौतीहरूलाई संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम क्षतिको सिद्धान्त अपनाएर सामना गर्नुपर्ने बताए।
उनले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्य समयमै पूरा गर्न सबै शाखाले योजनाबद्ध, नतिजामुखी, चुस्त र प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिए। साथै सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी, गुणस्तरीय र नागरिकको विश्वास बढ्ने गरी सञ्चालन गर्न निर्देशन दिए।
प्रहरीको दर्जाभन्दा सिक्ने संस्कार महत्वपूर्ण भएको उल्लेख गर्दै उनले समयानुकूल सङ्गठनको हितमा आउने राय, सुझाव र सल्लाह जो–कोहीबाट पनि ग्रहण गर्न आफू तयार रहेको बताए। निर्देशनपछि उनले कोशी प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखाको निरीक्षण तथा अनुगमन समेत गरेका थिए।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिना ले प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए।
निर्देशन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगर, कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाका प्रमुखसहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।


