
झापा, १३ साउन । राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षमा बिशन लिम्बू चयन भएका छन्। मंगलबार बिर्तामोडमा सम्पन्न संघको पाँचौं विस्तारित बैठकले लिम्बूको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।
निर्माण तथा कपडा व्यवसायमा संलग्न लिम्बू सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन्। उनी हाल नगर खेलकुद विकास समिति बिर्तामोडका सचिव तथा झापा गोल्डकपका कार्यसमिति सदस्यका रूपमा कार्यरत छन्।
नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा उमेश मिश्र, सचिवमा सुलभ भण्डारी तथा सहसचिवमा सङ्गीता खतिवडा र एसके लिम्बू चयन भएका छन्। कोषाध्यक्ष पद भने पछि चयन गरिने जनाइएको छ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले झापाका जिल्ला सचिव तुलसी कार्की, उपसचिव तथा मोर्चा प्रमुख अनिता कन्दङ्वा, युवा संघका कोशी प्रदेश अध्यक्ष फुर्वा लामा, केन्द्रीय अनुशासन आयोग सदस्य सरोज मेहरा, जिल्ला सचिवालय सदस्य प्रवीण पोखरेल, जिल्ला कमिटी सदस्य सागर पोर्तेल, प्रकाश लिङ्देन, नगर अध्यक्ष सुवास भट्टराई तथा अनेरास्ववियूका प्रदेश संयोजक नारायण पोखरेललगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि आङदम्बेले नवनिर्वाचित जिल्ला कमिटीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष फुर्वा लामालाई सम्मानपूर्वक बिदाइ समेत गरिएको थियो।


