
निशान निरौला
इलाम, १५ भदौ । सूर्योदय नगरपालिकाले नगर क्षेत्रलाई सफा, स्वच्छ तथा प्लास्टिकमुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन फोहोरमैला व्यवस्थापनसम्बन्धी नियममा कडाइ गरेको छ।
नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम नगर क्षेत्रभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको आयात, भण्डारण तथा बिक्री–वितरणमा पूर्ण रोक लगाएको जनाएको छ। नगरपालिकाले व्यापारीहरूलाई सामान बिक्री गर्दा पातला प्लास्टिकका झोलाको विकल्पमा कपडा वा कागजका झोला प्रयोग गर्न निर्देशन दिएको छ।
नगरपालिकाका अनुसार अब बजार तथा टोलमा फोहोर संकलन गर्ने गाडी आएपछि मात्रै घर वा पसलको फोहोर उक्त गाडीमा हाल्नुपर्नेछ। फोहोर संकलन गर्ने गाडी आउनुअघि सडक, पेटी, चोक वा अन्य सार्वजनिक स्थानमा फोहोर थुपार्न तथा जथाभावी फाल्न प्रतिबन्ध लगाइएको छ।
नियम उल्लङ्घन गरी सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेमा कसुरको प्रकृति हेरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने नगरपालिकाले जनाएको छ।
फोहोरमैला व्यवस्थापनसम्बन्धी नियमको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाले बजार तथा सार्वजनिक क्षेत्रमा अनुगमन र निगरानीसमेत सुरु गरेको छ। अनुगमनका क्रममा नियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइने नगरपालिकाले चेतावनी दिएको छ।
नगरपालिकाले नगरवासी, व्यवसायी तथा सरोकारवाला सबैलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी नियमको पूर्ण पालना गरी सूर्योदयलाई स्वच्छ, सफा र प्लास्टिकमुक्त नगरपालिका बनाउन सहयोग गर्न आग्रह गरेको छ।


