
झापा, २५ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


