झापा, ५ असोज । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासमा न्यून चापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

हाल कोशी र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकीका हिमाली र पहाडी क्षेत्रमा बदली छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। कोशी र बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
मधेससहित कोशी र बागमतीका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



