
झापा, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार खोप लगाउनेमध्ये ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जना छन्।
जिल्लाका १५ वटै स्थानीय तहमा असोज १५ गतेसम्म सञ्चालन हुने अभियानमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।
झापामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको दासले बताए।

अभियानका लागि जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।


