
झापा, ६ असोज । उत्तर अन्डमान सागर र आसपास विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि नेपालमा वर्षाको गतिविधि बढ्ने र शुक्रबारदेखि देशका विभिन्न स्थानमा हुरीसहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
मधेस तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल बंगालको खाडीको मध्य भागमा रहेको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा छ। यसको प्रभावले बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्नेछ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको विभागले जनाएको छ। नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरी कृषि विज्ञको सल्लाहअनुसार काम गर्न आग्रह गरिएको छ।


