
झापा, ६ असोज । कोशी प्रदेशका सुनसरी, धनकुटा र उदयपुरबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट अन्सु राईलाई ७ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरानका कबिर सहनी, सुनिल दाहाल र सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर तथा प्रतिबन्धित औषधिका १ हजार २०४ ट्याब्लेटसहित पक्राउ गरेको छ ।
धनकुटाको प्रहरी चौकी अखिसल्लाले सहिदभूमि गाउँपालिका–७ का २१ वर्षीय प्रगत राईलाई ट्रामोल २९० र स्पास्पेन २९० क्याप्सुलसहित पक्राउ गरेको छ । प्रहरी चौकी मूलघाटले भोजपुरका भोला राई र प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, उदयपुरको बेलका नगरपालिका–४ मा प्रहरीले बा.६२ प ११८२० नम्बरको मोटरसाइकल जाँच गर्दा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर, नाट्राजेपाम २० ट्याब्लेट र ट्रामाडोल १ हजार ५१० क्याप्सुल फेला पारेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


