
झापा, ७ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीको पश्चिम–मध्य भाग आसपास रहेको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको छ।
हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशमा धेरै स्थान तथा बागमती र गण्डकीका हिमाली–पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
राति कोशी प्रदेशका थोरै स्थान, बागमतीको पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सम्भावित प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


