
झापा, ७ असोज । भोटेकोसी बाढीपछि जारी उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।
अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री एलिसन हुकरले न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै सहयोग घोषणा गरेकी हुन् । घोषित सहयोगमध्ये १ करोड डलर स्थायी तथा विशेष रूपमा निर्माण गरिने पुलका लागि उपलब्ध गराइनेछ । अमेरिकी कम्पनीबाट उपलब्ध गराइने यी पुलले बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सञ्जाल सुदृढ गर्न सहयोग पुग्ने जनाइएको छ ।
त्यस्तै, बाढी प्रभावित परिवारका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामको तयारीमा सहयोग गर्न ८० लाख डलर उपलब्ध गराइनेछ । भविष्यमा हुने विपद्पछिको पुनर्लाभ प्रयासलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १ करोड ३० लाख डलर बराबरको सहयोग गर्ने योजना पनि रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नयाँ सहयोग घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाबाट हुने कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ । अमेरिकाले नेपाल सरकारसँग समन्वय गरी काम गर्ने र आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराउने जनाएको छ ।


