
झापा, ७ असोज । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको छ।
बाढीपहिरोबाट ठूलो क्षति भएको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आजको पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहनेछन्।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।


