इलाम, ७ असोज । इलाम प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको फर्सीको बियाँ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार असोज ६ गते राति करिब ११ बजे सूर्योदय नगरपालिका–४ ठूलो सिर्कुबुङस्थित जङ्गलमा फर्सीको बियाँ बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले जङ्गलमा लुकाएर राखिएको अवस्थामा फर्सीको बियाँ भरिएका २० वटा बोरा फेला पारेको थियो।
नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई तौल गर्दा उक्त बियाँको कुल तौल ५५२ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद फर्सीको बियाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर, इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार बियाँ जङ्गलमा लुकाएर राख्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको प्रहरीले जनाएको छ।



